काठमाडौं, ८ जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
नेपाल राष्ट्रिय क्रिकेट टोली घरेलु सिरिजको अन्तिम खेलमा सुखद नतिजासहित ६ अंक जोड्ने लक्ष्यमा रहेको छ । यसअघि नेपालले अमेरिकालाई ९ विकेट तथा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरिसकेको छ ।
अमेरिका भने नेपाललाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा दूरी बढाउने योजनामा छ । जारी सिरिजमा अमेरिकाले हालसम्म २ अंक मात्र जोडेको छ भने स्कटल्यान्ड ४ अंकसहित सिरिज सकाइसकेको छ ।
मुख्य प्रशिक्षक स्टुआर्ट ल ले विजयी टोलीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । त्यसैले स्कटल्यान्डविरुद्ध खेलेको टोली नै आज मैदान उत्रिन सक्ने अनुमान गरिएको छ ।
अंक तालिकामा नेपालको सुधार
नेपालले हालसम्म २७ खेलमा १० जित, १५ हार र २ खेलमा अंक बाँड्दै २२ अंक जोडेको छ । समान अंक भए पनि नेट रनरेटमा अघि रहँदै नेपाल पाँचौँ स्थानमा पुगेको हो ।
नेपालको लक्ष्य शीर्ष चारभित्र रहँदै एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनु रहेको छ ।
नेपाली टोली
कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की ।








