काठमाडौं, २ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
सिरिजमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डिएल मेथडमा २ रनले पराजित भएको थियो भने अमेरिका पनि स्कटल्यान्डसँग समान अन्तरले हार बेहोरेको थियो ।
घरेलु मैदानमा भइरहेको यो सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता जोगाउन नेपाललाई लिग–२ को शीर्ष ६ भित्र रहन आवश्यक छ । हाल नेपाल २५ खेलबाट १८ अंकसहित सातौँ स्थानमा रहेको छ ।
आजको खेलमा नेपाली टोलीमा दुई परिवर्तन हुन सक्ने सम्भावना छ । मुख्य प्रशिक्षक स्टुआर्ट ल ले विनोद भण्डारी र अर्जुन कुमाललाई विश्राम दिँदै कुशल भुर्तेल र ईशान पाण्डेलाई टोलीमा ल्याउन सक्ने चर्चा छ । ईशान पाण्डेले आज एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने सम्भावना रहेको छ ।
स्कटल्यान्डविरुद्धको खेलमा नेपालको बलिङ प्रभावशाली देखिए पनि ब्याटिङमा खेलाडीहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गर्न सकेका थिएनन् । त्यसैले आजको खेलमा ब्याटिङ सुधार मुख्य चुनौती रहनेछ ।
नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच भेटमा अमेरिका हावी देखिएको छ । नेपालले सन् २०२३ मा अमेरिका विरुद्ध जित निकाले पनि त्यसपछि भएका चार खेलमा लगातार पराजय भोगेको छ ।
लिग–२ अंक तालिकामा स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै शीर्ष ६ मा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।







