काठमाडौं, १७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
गुजरात टाइटन्स पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो। उसले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो।
यता, बेंगलुरुले समूह चरणमा १४ खेलमध्ये ९ खेल जित्दै १८ अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि पहिलो क्वालिफायरमा जित निकाल्दै टोलीले फाइनलको यात्रा तय गरेको हो।
साविक विजेता बेंगलुरु लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने गुजरात पहिलो क्वालिफायरको हारको बदला लिँदै च्याम्पियन बन्ने योजनामा रहेको छ।
दुई बलिया टोलीबीचको प्रतिस्पर्धाले रोमाञ्चक खेलको अपेक्षा बढाएको छ।








