काठमाडौं, २९ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आज मंगलबारदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा आयोजना भएको यस सिरिजलाई नेपालको विश्वकप छनोट यात्राका लागि निकै महत्वपूर्ण मानिएको छ ।
यसअघि यूएई र ओमानविरुद्ध भएको घरेलु सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेल जितेको थियो । नेपालले यूएईलाई दुई खेलमा हराउँदा ओमानमाथि पनि प्रभावशाली जित निकाल्न सफल भएको थियो ।
हालै नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डविरुद्धको अभ्यास सिरिज क्लिन स्वीप गरेपछि राष्ट्रिय टोलीको मनोबल थप उच्च बनेको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, भीम सार्की, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसीलगायत खेलाडी रहेका छन् ।
अंकतालिकामा अमेरिका ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल १८ अंकका साथ सातौं स्थानमा रहेको छ ।





