Logo

आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी



काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको आंशिक प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ।

हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि बदली छ भने हिमाली क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा मधेश, कर्णाली र बागमती प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्