Logo

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं, ३ जेठ । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ । कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनेछ भने अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्