Logo

आज देशभर बदली: केही स्थानमा भारी वर्षा र चट्याङको जोखिम



काठमाडौं, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्य बदली रहनेछ।

विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ, जसले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर बदली कायमै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपात हुन सक्नेछ भने अन्य प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी लुम्बिनी प्रदेशका केही स्थानमा रातिको समयमा भारी वर्षाको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्