Logo

आज पनि देशभर वर्षाको सम्भावना, भारी वर्षाले जनजीवन प्रभावित हुन सक्ने



काठमाडौं, १८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले मौसममा यसको प्रभाव कायम रहेको हो।

विभागले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला आधिकारिक सूचनामा नियमित अद्यावधिक रहन पनि विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्