काठमाडौं, २० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ ।
हाल देशभर सामान्यतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।
तराई भूभागका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






