काठमाडौं, २३ भदौ । आज २०८३ साल भदौ २३ गते मंगलबार अर्थात् सन् २०२६ सेप्टेम्बर ८ तारिख। आज भदौ कृष्ण पक्षको द्वादशी तिथि परेको छ। आजकै दिन जेनजी शहीद दिवस, विश्व फिजियोथेरापी दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि मनाइँदैछ।
धार्मिक मान्यताअनुसार मंगलबार भगवान गणेशको पूजा, आराधना तथा व्रत बस्नु शुभ मानिन्छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्नुअघि भगवान गणेशको पूजा गर्ने परम्परा छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले गणेशको पूजा आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।
शास्त्रमा गणेश पूजा १६ विधिबाट गर्ने उल्लेख पाइन्छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा तथा आरती–परिक्रमा लगायतका विधि पर्दछन्।
धार्मिक मान्यताअनुसार मंगलबार केही काम गर्न भने अशुभ मानिन्छ। यस दिन पशुपक्षीको हत्या नगर्नु, माछा तथा मासु सेवन नगर्नु र मदिरा सेवनबाट टाढा रहनु राम्रो मानिन्छ। यस्ता कामले आर्थिक तथा मानसिक समस्या बढ्न सक्ने धार्मिक विश्वास छ।
गणेशलाई किन चढाइन्छ लड्डु ?
भगवान गणेशलाई लड्डु अत्यन्त प्रिय मानिन्छ। पद्मपुराणमा उल्लेखित कथाअनुसार पार्वतीले आफ्ना दुई पुत्र गणेश र कुमारमध्ये धर्माचरण गर्दै सबै तीर्थको भ्रमण गरेर पहिले फर्कनेलाई दिव्य लड्डु दिने बताएकी थिइन्।
कुमार मयुरमा सवार भएर तीर्थ भ्रमणमा निस्किए भने गणेशजी आफ्नो वाहन मुसाका कारण त्यसरी यात्रा गर्न सकेनन्। त्यसपछि गणेशले श्रद्धापूर्वक आफ्ना मातापिताको परिक्रमा गरे। मातापिताको परिक्रमा गर्नु नै सम्पूर्ण तीर्थको परिक्रमा गरेसरह भएको भन्दै पार्वतीले गणेशलाई लड्डु प्रदान गरेको धार्मिक कथा पाइन्छ।
त्यसैले गणेशलाई लड्डु अर्पण गर्नु केवल प्रसाद चढाउने विषय नभई मातापिताप्रतिको श्रद्धा र भक्तिको प्रतीकका रूपमा समेत लिइन्छ।
गणेशलाई बुद्धि, ज्ञान र विवेकका प्रतीकका रूपमा पूजा गरिन्छ। ‘विघ्नेश्वर’ तथा ‘विनायक’ नामले समेत चिनिने गणेशलाई विघ्नबाधा हटाउने र शुभकार्य सफल बनाउने देवताका रूपमा हिन्दू धर्ममा श्रद्धापूर्वक पूजा गरिन्छ।
गणेश पूजामा जपिने ११ मन्त्र
धार्मिक विश्वासअनुसार गणेश पूजाका क्रममा यी मन्त्र जप्ने गरिन्छ :
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लम्बोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः






