Logo

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान



काठमाडौं, २६ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागको भनाइ छ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।ले प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्