काठमाडौं, २९ भाद्र । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज अटल सौभाग्य र पारिवारिक सुख–शान्तिको कामना गर्दै मनाइँदैछ।
तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। महिलाहरू रातो पहिरनमा सजिएर शिव–पार्वतीको पूजाआराधना गर्न मन्दिर पुगेका छन्।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा विवाहित तथा अविवाहित महिलाले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा गर्ने परम्परा छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्ने गर्छन्।
त्यस्तै, अविवाहित महिलाले आफूले चाहेजस्तो गुणसम्पन्न जीवनसाथी प्राप्त होस् भन्ने धार्मिक विश्वासका साथ तीजको व्रत बस्ने प्रचलन छ।
धार्मिक मान्यताअनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास गरिन्छ।
तीजका अवसरमा देशभरका शिवालयमा विशेष पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।






