Logo

एसियन गेम्स छनोटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

अपराजित यात्रा कायमै राख्दै उपाधि जित्ने नेपालको लक्ष्य



काठमाडौं, २४ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र ओमानबीचको खेल सिंगापुरमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपाल उत्कृष्ट लयमा रहेको छ। समूह चरणका दुवै खेलमा प्रभावशाली जित निकालेको नेपाली टोली आजको खेल जित्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रिनेछ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेको थियो।

यसअघि समूह चरणको पहिलो जितसँगै नेपालले एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब ओमानविरुद्धको सेमिफाइनल जितेर छनोट प्रतियोगिताको उपाधिनजिक पुग्ने लक्ष्य नेपाली टोलीको रहेको छ।

समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको ओमानलाई हराउँदै नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ। खेलप्रेमीहरूको नजर आजको महत्त्वपूर्ण प्रतिस्पर्धामा केन्द्रित रहेको छ।

प्रतिक्रिया दिनुहोस्