Logo

ओखलढुङ्गामा विद्युत् सर्ट भएर भीषण आगलागी, दुई घर जलेर नष्ट; २६ लाखको क्षति



ओखलढुङ्गा, १० भाद्र । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोले बनेको र खरको छानो भएको दुईतले घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको थियो। आगो फैलिँदा उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। प्रहरीले उनको करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनको करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट दुवै घरमा गरी करिब २६ लाख रुपैयाँ बराबरको क्षति भए पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्