Logo

ओमानमाथि सानदार जित, नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा



काठमाडौं, २४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधिनजिकको यात्रा तय गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु टिक्न नसक्दै १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। जवाफमा नेपालले ९.२ ओभरमै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो।

नेपालको जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ४४ रनको अविजित इनिङ खेले। उनले आफ्नो इनिङमा ७ चौका र १ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले २० रन जोड्दा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे।

ओमानका लागि कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबाइर अली अकबरले २२ र अब्दुलजलिल खानले १६ रनको योगदान दिए।

बलिङतर्फ नेपालका करण केसी सर्वाधिक सफल रहे। उनले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

अब नेपालले सोमबार हुने दोस्रो सेमिफाइनलअन्तर्गत हङकङ र मलेसियाबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यसअघि नै सेमिफाइनलमा पुगेसँगै नेपाल एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। नेपालसँगै सेमिफाइनलमा पुगेका अन्य तीन टोलीले पनि एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्