काठमाडौं, १ असोज । कालिगढ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन भगवान् विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा छ । यस अवसरमा कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजाआराधना गरिन्छ । कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिकले यो पर्व मनाउने गर्छन् ।
विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरेपछि शुद्ध स्थल वा बागमतीको मुहानस्थल सुन्दरीजललगायत स्थानमा लगेर विसर्जन गर्ने चलनसमेत रहेको छ ।
धार्मिक विश्वासअनुसार विश्वकर्मा पूजाका दिन कालिगढले दैनिक काममा प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रने र राम्रोसँग काम गर्न सकिने विश्वास छ । यही मान्यताका आधारमा इञ्जिन तथा मेसिन जडित सवारीसाधनको समेत पूजा गर्ने गरिन्छ ।
धार्मिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वास गरिन्छ । एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई कुशल वास्तुविद्का रूपमा पूजा गर्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपाल बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ गुजरातको समुद्र क्षेत्रमा रहेको धार्मिक विश्वास छ ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ । वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ ।
विश्वकर्माको विद्वता र सीपको सम्मानस्वरूप नेपालका कालिगढ तथा श्रमिकले हरेक वर्ष भव्य रूपमा पूजा गर्ने गरेका छन् । पूजा गरेमा आफूमा पनि विश्वकर्माको जस्तो सीप र गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
यसैगरी वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्हरूले आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ । चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय समेटिएको बताइन्छ । स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति आकर्षण बढेसँगै नेपालमा वास्तुविद्याको महत्वसमेत बढ्दै गएको छ ।






