काठमाडौं, ७ जेठ । कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी नेपाली यात्रुलाई २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
उपभोक्ता अदालतका न्यायाधीशहरू दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेल को इजलासले उक्त फैसला गरेको हो ।
अदालतले कतार एयरवेज लाई मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
घटना सन् २०२३ जुन १० मा काठमाडौँ–दोहा हुँदै बोस्टन जाने क्रममा भएको थियो । विमानमा चालक दलबाट कफी पोखिँदा ललितपुरकी प्रिती थापा को पेट, तिघ्रा र संवेदनशील भागमा गम्भीर जलन भएको थियो । पछि उनलाई अस्पतालमा उपचार गरिएको थियो ।
यसअघि क्षतिपूर्तिका लागि आन्तरिक रूपमा दाबी गरे पनि कम्पनी तयार नभएपछि उनी अदालत पुगेकी थिइन् । अदालतको यो फैसलापछि एयरवेजले रकम तिर्नुपर्ने वा माथिल्लो अदालतमा पुनरावेदन गर्नुपर्ने हुन्छ ।








