Logo

पढाइसँगै सामाजिक जिम्मेवारी सिकाउँदै बेल्स मोडल स्कुल, लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेतना



झापा, १२ असोज । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलमा ‘लागू औषध दुर्वष्यन न्यूनीकरणमा विद्यार्थीको भुमिका’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

चेतना नेपाल परामर्श केन्द्रको आयोजना तथा बेल्स मोडल बाल क्लबको समन्वयमा भएको कार्यक्रममा विद्यार्थीलाई लागूऔषध दुर्वष्यनबाट जोगिन तथा यसको न्यूनीकरणमा विद्यार्थीले निर्वाह गर्न सक्ने भूमिकाबारे जानकारी दिइएको थियो।

विद्यार्थीलाई लागूऔषध दुर्वष्यनका कारण, असर र जोखिमबारे सचेत गराउँदै उनीहरूलाई दुर्वष्यनबाट टाढा राख्ने, स्वस्थ तथा सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने र लागूऔषध न्यूनीकरणका लागि सञ्चालन हुने सचेतना अभियानमा विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले जानकारी दिनुभयो।

विद्यार्थीमा आफ्ना साथीभाइ तथा समुदायलाई समेत दुव्र्यसनविरुद्ध सचेत गराउने जिम्मेवारीबोध विकास गर्नु कार्यक्रमको अर्को उद्देश्य रहेको प्रिन्सिपल प्रसाईंले बताउनुभयो।

कार्यक्रममा चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओली र कोषाध्यक्ष तथा प्रशिक्षक देवी भक्त आचार्यले विद्यार्थीलाई लागूऔषध दुर्वष्यनका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षकहरूले लागूऔषध प्रयोगका कारण विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्न सक्ने असर, पढाइ तथा पारिवारिक जीवनमा आउन सक्ने समस्या, खराब संगतबाट जोगिने उपाय तथा लागूऔषध प्रयोग गर्न दबाब आएमा त्यसको प्रतिरोध गर्ने तरिकाबारे जानकारी दिनुभएको थियो। विद्यार्थीले आफू मात्र दुर्वष्यनबाट टाढा नभई साथीभाइ र समुदायमा समेत यसको नकारात्मक असरबारे सचेतना फैलाउन सक्ने प्रशिक्षकहरूले बताउनुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रसाईंले विद्यार्थीलाई आफ्नो भविष्यप्रति सचेत हुँदै गलत संगत र खराब बानीबाट टाढा रहन सुझाव दिनुभयो। विद्यार्थी जीवन सिकाइ र व्यक्तित्व निर्माणको महत्वपूर्ण चरण भएकाले सकारात्मक सोच, अनुशासन र असल संगतलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।

लागूऔषध दुर्वष्यन व्यक्तिको मात्र नभई परिवार र समाजलाई समेत असर पार्ने विषय भएकाले यसको न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रिन्सिपल प्रसाईंले विद्यार्थीलाई आफ्नो वरपरका व्यक्तिलाई समेत सचेत गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा १२ की छात्रा बिपुल सिटौला र कक्षा ९ का छात्र गौरव बिमलीले मन्तव्य राखेका थिए।

प्रशिक्षण कार्यक्रममा कक्षा ९, १०, ११ र १२ का २ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको विद्यालयका भाइस प्रिन्सिपल देवान ढुंगानाले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन शिक्षक केशव नेपालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्