Logo

काठमाडौँ महानगर: ७ मा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक



काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएको हो ।

होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन्। महिला सदस्यतर्फ कांगे्रसका रुपा थापाले जित हासिल गर्नुभएको छ भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएका छन् ।

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राखेका छन्। उनले ३८ हजार ३५१ मत प्राप्त गर्दा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्