झापा, १७ असार । भारतको बिहार राज्यस्थित किशनगञ्ज जिल्लामा प्रहरीले लागूऔषध तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानमा एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट ठूलो परिमाणमा नेपाली र भारतीय मुद्रा, मोबाइल फोन तथा डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दिघलबैंक प्रहरी चौकी क्षेत्रको मोहमारी खरवार टोल निवासी शाहनवाज हुसेन रहेका छन्। उनलाई ८० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार, उनको साथबाट २३ लाख ४७ हजार ९ सय नेपाली रुपैयाँ, ३० हजार ५ सय ५० भारतीय रुपैयाँ, छ वटा मोबाइल फोन र एउटा डिजिटल तराजु बरामद गरिएको छ।
एसएसबी र किशनगञ्ज प्रहरीले गोप्य सूचनाको आधारमा संयुक्त रूपमा छापा मारेर उनलाई पक्राउ गरेको जनाइएको छ। बरामद भएको ठूलो परिमाणको नेपाली मुद्रालाई आधार मान्दै अनुसन्धान टोलीले घटनाको अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालसँग सम्बन्ध हुन सक्ने आशंका गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका हुसेनको नेपालमा सक्रिय लागूऔषध तस्करहरूसँग सम्पर्क रहेको हुन सक्ने संकेत भेटिएको प्रहरीले जनाएको छ। बरामद गरिएका मोबाइल फोनको डिजिटल परीक्षण तथा कल विवरणको अध्ययनमार्फत उनीसँग जोडिएका अन्य व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ।
भारत–नेपाल सीमावर्ती किशनगञ्ज क्षेत्रमा ब्राउन सुगरसहित अन्य लागूऔषधको ओसारपसार लामो समयदेखि सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ। यस घटनालाई त्यसविरुद्धको महत्वपूर्ण सफल कारबाहीका रूपमा लिइएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीले शाहनवाज हुसेनविरुद्ध भारतीय कानुनअनुसार लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ। बरामद भएका सबै सामग्री जफत गरिएको छ भने यस सञ्जालमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारिएको जनाइएको छ।






