Logo

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हावाहुरीको सम्भावना



काठमाडौं, १५ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा देशको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभरको मौसममा उल्लेखनीय बदली देखिएको छ। हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानहरूमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा भने हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

यसैगरी आज राति पनि मौसम अस्थिर रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नेछ भने केही स्थानहरूमा वर्षा वा हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा पनि आंशिक बदलीसहित केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका विभिन्न भू–भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्