काठमाडौं, १९ साउन । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ ।
मनसुन सक्रिय रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ । पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । तराईका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । कर्णालीका पहाडी तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । खराब मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न विभागले अनुरोध गरेको छ ।






