काठमाडौं, ८ भाद्र । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ।






