झापा, २२ असोज । बडादशैँको अवसर पारेर झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल गरामनीस्थित दुर्गा शक्ति पीठमा आयोजना हुने श्री पद्म महापुराण ज्ञान महायज्ञको तयारी पूरा भएको छ।
असोज २५ गते घटस्थापनादेखि ३१ गते सप्तमीसम्म सञ्चालन हुने महायज्ञका लागि मण्डप निर्माण, आवश्यक व्यवस्थापन, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका काम सम्पन्न भएको आयोजकले जनाएको छ। दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समिति तथा पुराण मूल आयोजक समितिको आयोजनामा हुने महायज्ञमा सहभागी हुन आयोजकले श्रद्धालु तथा भक्तजनलाई आह्वान गरेको छ।
अनादिकालदेखि धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको गरामनी शक्तिपीठमा बडादशैँको अवसरमा विगत १५ वर्षदेखि पुराण आयोजना हुँदै आएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण पुराण आयोजना गर्न नसकिएपछि मन्दिरमा चण्डी पाठ गरिएको थियो। यस वर्ष भने धार्मिक परम्परालाई निरन्तरता दिँदै पद्म महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञको पहिलो दिन असोज २५ गते शोभायात्रासहित उद्घाटन गरिनेछ। सोही दिनदेखि पाठपारायण तथा कथा वाचन सुरु हुनेछ। असोज २६ देखि ३१ गतेसम्म बिहान ७ बजे मण्डप पूजन तथा पाठ प्रारम्भ हुनेछ भने बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म कथा वाचन गरिनेछ। साँझ ६ बजेदेखि राति ९ बजेसम्म सन्ध्याकालीन महाआरती (गंगा आरती) तथा भजनसन्ध्या सञ्चालन हुनेछ। असोज ३० गते लक्ष्यदीप प्रज्वलन तथा ३१ गते यज्ञ समापनसँगै तिलक र प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।
महायज्ञको उद्घाटन जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले गर्ने कार्यक्रम छ। आचार्य पण्डित मुकुन्द नेपाल प्रमुख वाचक तथा आचार्य पण्डित मोहन घिमिरे उपवाचकका रूपमा रहनेछन्।
महायज्ञलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ। मन्दिर समितिकी कार्यवाहक अध्यक्ष मनमाया शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार, चिरञ्जीवी कार्कीको संयोजकत्वमा आर्थिक, कौशिला सिटौलाको संयोजकत्वमा कीर्तन मण्डली तथा धार्मिक संघसंस्था, मोहन घिमिरेको संयोजकत्वमा गुरु, मण्डप तथा पूजापाठ, राजवंशी समाज विकास समितिको संयोजकत्वमा स्वयंसेवक तथा रोहत ओलीको संयोजकत्वमा प्रचारप्रसार, साउण्ड तथा टेन्ट उपसमिति गठन गरिएको छ।
महायज्ञका लागि धार्मिक संघसंस्था, स्थानीयवासी तथा श्रद्धालुसँग सहकार्य गरिएको आयोजकले जनाएको छ। भक्तजनको सहज सहभागिता, धार्मिक अनुष्ठानको व्यवस्थित सञ्चालन तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समितिका सचिव तथा पुराण मूल आयोजक समितिका संयोजक नवराज भट्टराईका अनुसार महायज्ञको मुख्य उद्देश्य धार्मिक गतिविधिलाई निरन्तरता दिनुका साथै मन्दिरको दीर्घकालीन संरक्षण र सञ्चालनका लागि आधार तयार गर्नु हो। महायज्ञमार्फत मन्दिरका आजीवन सदस्य वृद्धि गर्नुका साथै अक्षयकोष निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।
अक्षयकोषबाट प्राप्त स्रोत मन्दिरको नियमित सञ्चालन, संरक्षण तथा आगामी धार्मिक गतिविधिमा उपयोग गरिनेछ। आयोजकले महायज्ञमा सहभागी भई धार्मिक अनुष्ठानमा सरिक हुन तथा दुर्गा शक्ति पीठको संरक्षण र विकासमा सहयोग गर्न श्रद्धालु, धर्मप्रेमी तथा स्थानीयवासीमा आग्रह गरेको छ।






