झापा, २९ असार । झापाको भद्रपुरबाट प्रहरीले ठूलो परिमाणमा चाइनिज खरबुजाको बीउ बरामद गरेको छ। बरामद गरिएको बीउको अनुमानित मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा भद्रपुर नगरपालिका–३ स्थित भिमलाल सुवेदीको घरमा छापा मारिएको थियो। प्रहरी उपरीक्षक बशुन्धरा खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भद्रपुरका गरी ५५ जना प्रहरी परिचालन गरिएको थियो।
छापाका क्रममा घरका दुई वटा कोठाबाट ९४८ बोरा चाइनिज खरबुजाको बीउ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रत्येक बोरामा ४० किलोग्रामका दरले जम्मा ३७ हजार ९२० किलोग्राम बीउ फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन आवाका अनुसार बरामद गरिएको बीउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरधनी भिमलाल सुवेदीसँग सम्झौता गरी भद्रपुरका सन्तोष धमलाले उक्त कोठा भाडामा लिएका थिए। घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।






