झापा, ३१ असार । झापाको मेचीनगर नगरपालिका-४ आमडाँगीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर–४ निवासी हरि बुर्जा मगरका ६ वर्षीय छोरा सम्भव बुर्जा मगर रहेका छन्। उनी मंगलवार
अपराह्न करिब ४ः३० बजे सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार राईसिङडाँडाबाट बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक सप्तरीको राजविराज नगरपालिका–९ निवासी २७ वर्षीय सुधीरकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।






