झापा, २४ साउन । । झापाको कन्काई नगरपालिका–७, दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब ४ बजे बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ निवासी ५० वर्षीया मिरादेवी गौतमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ४ः५० बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेल पनि सामान्य घाइते भएका छन् । अनुहारमा चोट लागेका रम्तेलको सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
उपचारपछि उनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






