Logo

ढुंगामुढापछि प्रहरीको गोली, ब्राउन सुगरसहित भारतीय तस्कर पक्राउ



सिरहा, ८ असार । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै लागूऔषध कारोबारमा संलग्न एक कुख्यात भारतीय तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रञ्जितकुमार पासवान उर्फ ‘छोटु’ पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो गोलबजार शाखाको संयुक्त टोली उनलाई नियन्त्रणमा लिन पुगेको थियो। पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरेको जनाएको छ।

प्रहरीको गोली पासवानको खुट्टाको पिँडुलामा लागेको छ। ढुंगामुढाका क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्। दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा प्रहरीले भारतका एक नाबालकलाई समेत नियन्त्रणमा लिएको छ। घटनास्थलबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका पासवान सिरहा तथा आसपासका क्षेत्रमा लामो समयदेखि लागूऔषध कारोबारमा सक्रिय थिए। प्रारम्भिक अनुसन्धानबाट उनले करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको खुलेको छ। साथै, लागूऔषध कारोबारमा नाबालकलाई समेत प्रयोग गर्ने गरेको तथ्य अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्