दाङ, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतकहरू सल्यानको माल्टा घर भई हाल तुलसीपुर–९ दोघर बस्दै आएका कमल गिरी र घनश्याम गिरी हुन्। प्रारम्भिक अनुसन्धानअनुसार कमल गिरी घर निर्माणसम्बन्धी ठेकेदार तथा घनश्याम गिरी मिस्त्रीको रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार उनीहरू पानी ट्याङ्की सफा गर्न भित्र प्रवेश गरेको र अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासीले बुधबार पानी ट्याङ्कीभित्र उनीहरूलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शव उद्धार गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






