काठमाडौं, ११ जेठ । शेरबहादुर देउवा दम्पतीलाई मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जीविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकार विशेष अदालतमा रहने उल्लेख गर्दै अध्यादेश जारी हुनुअघि काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ गते जारी गरिएको पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर गरेको जनाएको छ।
हाल उपचारका लागि बैंकक पुगेका देउवा हङकङमा रहेका छन्। रिटमा उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन मञ्जुर रहेको तथा पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका थिए।
सरकारले देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गरी इन्टरपोलमार्फत पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको थियो।








