काठमाडौं, ११ जेठ । मौसम पूर्वानुमान महाशाखा ले नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने मधेश प्रदेश तथा लुम्बिनीका केही पहाडी भूभागमा आंशिक बदली रहेको छ।
हाल बागमती, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसोको मौसम
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तातो लहरको चेतावनी
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन रहने तथा तराई भूभागमा तातो लहर (लू) चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको मौसम
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








