काठमाडौं, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। देशका बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भने तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी तराई भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ।








