Logo

देशभर बदली र वर्षाको सम्भावना: मेघगर्जन, चट्याङ्ग र असिना पर्न सक्ने



काठमाडौं, १९ वैशाख । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेकाले देशभर मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ। केही स्थानहरूमा अहिले नै मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र लुम्बिनीका तराई क्षेत्रमा समेत मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ।

रातिको समयमा पनि मौसम पूर्णरूपमा सुधार नहुने जनाइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्