Logo

देशभर मनसुनी प्रभाव कायमै, कोशी–बागमतीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं, १० भाद्र । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सामान्यतया बादल लागेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा समेत मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशीका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्