Logo

धनतेरससँगै सुरु भयो तिहार, यस वर्ष छ दिनसम्म मनाइने



काठमाडौं, २० कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस मनाइँदैछ । यस अवसरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने धार्मिक परम्परा छ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलालले बताएका छन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार मनाइनेछ । त्यसैगरी आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ घरघरमा लक्ष्मीपूजा हुनेछ ।

यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ । भाइटीकासँगै तिहार पर्वको समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्