Logo

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको भीड



काठमाडौं, ३० असोज । बडादसैँअन्तर्गत दुर्गा पक्षको छैटौँ दिन आज आश्विन शुक्ल षष्ठीका अवसरमा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी विशेष पूजाआजा गर्ने वैदिक सनातन परम्परा छ।

पौराणिक मान्यताअनुसार कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिएकी देवीलाई ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको हो। देवी कात्यायनीलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाशसँग जोडेर पूजा गर्ने गरिन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाका नौ स्वरूपको क्रमशः पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिन्छ। त्यसैगरी सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ।

नवरात्रका अवसरमा देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस अवधिमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन पनि छ।

दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, कालिकास्थान र बगलामुखीलगायत शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ। त्यस्तै उपत्यकाबाहिरका मनकामना, पाथीभरा, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजन पुग्ने गरेका छन्।

नवरात्रमा पूजा गरी राखिएको जमरा र देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्न सकिने धार्मिक मान्यता छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने चलन छ।

यसरी आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको आराधना गरिने दसैँ पर्व नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ

प्रतिक्रिया दिनुहोस्