काठमाडौं, २ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने जनाएको छ। समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।
समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका दिन गरिएका पूजा तथा धार्मिक कर्म कात्तिक २ गते पनि दोहोर्याउनुपर्ने हुन्छ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजा कोठामा आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने उनले बताए। महाअष्टमीका दिन गरिने अन्य धार्मिक कर्मसमेत दोस्रो दिन दोहोर्याउनुपर्ने उनको भनाइ छ।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र नौ दिनको सट्टा दशरात्र बन्न पुगेको हो। यससँगै विजयादशमीका दिन लगाइने टीकामा १० रात्रिका जमरा प्रयोग गरिने भएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक पर्दैन।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श तथा तलेजुका पुजारीको परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार दरबारमा महाअष्टमीको कर्म सम्पन्न गरेलगत्तै अर्को दिन महानवमीको पूजा आराधनालगायतका कर्म गर्ने परम्पराका कारण कालरात्रि पूजा सोमबार राति गर्न लागिएको हो।
हनुमानढोका दरबारको दशैँघरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको थियो। तर, मुख्य पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ।






