Logo

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने



काठमाडौं, २ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।

यो खेल अल अमिरातमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । ओमानमा चलिरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा अस्ति नेपाल क्यानडासँग २४ रनले पराजित भएपछि एकदिवसीय मान्यता जोगाउन आजको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

यो शृङ्खलामा शुरुआती दुई खेल जितेर शीर्ष–६ को सम्भावनालाई बलियो बनाएको नेपालका लागि क्यानडासँगको हारले गाह्रो बनाएको हो । हारपछि ८ टोली सम्मिलित शृङ्खलाको अंक तालिकामा नेपाल ३५ खेलमा २८ अंकसहित सातौं स्थानमा झरेको छ ।

सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । अब नेपालले शीर्ष–६ मा अटाउन घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । ओमान ३३ अंकसहित चौथो स्थानमा छ । लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्