Logo

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै



काठमाडौं, २५ असोज । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान आरम्भ भएको हो ।

घटस्थापनाका अवसरमा आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिँदैछ । विधिपूर्वक पूजा कोठा वा दसैँ घरमा जौँ रोपेर जमरा राख्ने परम्परा छ । विजयादशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गरिने भएकाले यसलाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे रहेको छ । समितिले सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन निर्धारण गरेको जनाएको छ ।

नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री र क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ ।

बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । यस पर्वमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । रोजगारी, अध्ययन तथा अन्य कामले घरबाहिर रहेका मानिस परिवारसँग दसैँ मनाउन घर फर्कने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको अवसरसमेत हो ।

विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । त्यसपछि कोजाग्रत पूर्णिमासम्म दसैँको उत्सव जारी रहने धार्मिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्