काठमाडौं, २२ वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र ओमान आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।
घरेलु मैदानमा भइरहेको शृङ्खलामा नेपालले तीनमध्ये दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ। नेपालले यूएईविरुद्ध दुई जित निकालेको भए पनि ओमानसँगको पहिलो भेटमा १०२ रनको हार बेहोरेको थियो।
पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपालले तेस्रो खेलमा पुनः यूएईमाथि ६ रनको रोमाञ्चक जित हात पारेको थियो। अब शृङ्खलाको अन्तिम खेलमा ओमानलाई हराउँदै लय कायम राख्ने लक्ष्य नेपालसामु छ।
ओमान भने त्रिवि मैदानमा नेपालविरुद्ध अहिलेसम्म अपराजित रहेको टोली हो, जसले आजको खेललाई अझ चुनौतीपूर्ण बनाएको छ।
लिग–२ को अंकतालिकामा ओमान ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल १६ अंकसहित नवौं स्थानमा रहेको छ। ओमानले २७ खेलमा १४ जित निकालेको छ भने नेपालले २३ खेलमा सात जित मात्र हासिल गरेको छ।





