काठमाडौं, २६ वैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेकाले देशका विभिन्न भागमा बदली र वर्षाको अवस्था देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा बदली कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।





