पाँचथर, ९ जेठ । याङ्वरक गाउँपालिका मा शनिबार रातिको पहिरोले विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठमा क्षति पुर्याएको छ ।
याङ्वरक–१ का महमलाल खवासको घर र गोठ, कविराज राईको घर तथा बलबहादुर खालिङको घरमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । ओयाम बजार क्षेत्र नजिकै पनि पहिरो गएको छ ।
बाढी र पहिरोका कारण सखानेपानी, सिँचाइ कुलो तथा विद्युत् सेवामा समेत असर परेको छ । विभिन्न सडक तथा पुलमा क्षति पुग्दा यातायात सेवा ठप्प बनेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–चिवाभञ्ज्याङ खण्डका विभिन्न स्थानमा पहिरो खसेको छ भने दोभाने क्षेत्रमा डाइभर्सन र निर्माणाधीन पुल बगेको छ ।
पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुगेपछि आवतजावत रोकिएको छ । साथै च्याङथापु–चाम्लिङडाँडा, च्याङथापु–एकराते र नाम्रेक–फलैचा जोड्ने झोलुङ्गे पुलमा पनि बाढीले असर पुर्याएको छ ।
प्रभावित क्षेत्रमा विद्युत् तथा मोबाइल नेटवर्क अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।








