बर्दिवास, २२ माघ । दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal, चक्रिय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो । यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व CREASION ले लिएको छ भने, यसका कन्सोर्टियम साझेदार Restless Development, र Youth Innovation Lab (YI-LAB रहेका छन् । त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा Fellow राख्नका लागि Waste Smart Fellowship सम्झौता ज्ञापन पत्रमा पनि हस्ताक्षर गरेको छ ।
बर्दिवास नगरपालिकाका उपमेयर तारा देवी महतोले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘हामी यस परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौँ । हामी आशावादी छौँ कि प्रस्तावित गतिविधिले हाम्रो नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो प्रभाव पार्ने छ, र हामी यस परियोजनालाई कार्यान्वयन गर्न हाम्रो पूर्ण सहयोगको वाचा गर्दछौँ ।
बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका ९ ओटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीको संस्था, युवा, विद्यालयका बालबालिका र तीन तहका सरकारसँग मिलेर काम गर्नेछ । परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्नेछ । प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्नेछ । ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीसँग काम गर्ने, युवालाई पैरवी र सचेतना अभियानमा संलग्न गराउने र युवा र सफाइकर्मीको संस्थाको सक्रिय संलग्नता मार्फत समावेशी र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने उद्देश्य राखेको छ ।
यसैगरी, नेपालको सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतालाई यस परियोजनाले प्रवर्धन गर्दछ । यसले सन् २०३० सम्ममा १०० नगरपालिकामा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लक्ष्यमा पनि योगदान पुर्याउँछ।
नीति विकास, सचेतना अभियान, र क्षमता(निर्माण पहलमा सक्रिय संलग्नताको माध्यमबाट, बर्दिवास नगरपालिकाले चक्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ, जसले गर्दा दिगोपन र वातावरणीय व्यवस्थापनका राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउँछ । बर्दिवास नगरपालिकाको यो पहलले वातावरणीय चुनौतीको सम्बोधनमा सक्रियता देखाउँदै अन्य नगरपालिकाको निम्ति उदाहरणिय बनेको छ ।
विगत केही दशकमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ, जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण चुनौती सिर्जना गरेको छ । नेपालभरका ल्यान्डफिलमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ जुन प्रतिवर्ष २१९,००० टन हो । त्यसैगरी, नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २०,६०० टन हुने अनुमान छ । यी प्लास्टिक समयको साथ वातावरणमा संचित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ । त्यसैले प्लाष्टिकको परिक्रमा प्रवर्द्धन गर्न ग्रीनसिफ्ट नेपालले महत्वपूर्ण भूमिका खेल्नेछ ।