Logo

बाल दिवसको अवसरमा बिल्स मोडल स्कुलमा विविध सांस्कृतिक कार्यक्रम, ६५ विद्यार्थी सम्मानित



झापा, भदौ २६ । झापाको बिर्तामोड–७ स्थित बिल्स मोडल स्कुलले बाल दिवसको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीले गीत, नृत्य, कविता वाचनलगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए।

सोही अवसरमा विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। नियमित हाजिरी, सरसफाइ, अनुशासन तथा मेहनती विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक कक्षाबाट दुई–दुई जना विद्यार्थी छनोट गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।

यसै अवसरमा प्याप्सन बिर्तामोडको नगरस्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा प्रथम हुन सफल कक्षा ९ की छात्रा शिक्षा प्रसाईलाई विद्यालयले विशेष सम्मान गरेको थियो।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईले विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउनुभयो। विद्यार्थीको समग्र शैक्षिक प्रगतिका लागि अभिभावक पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

घरायसी वातावरणले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले अभिभावक त्यसतर्फ पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो।

प्याप्सन बिर्तामोड नगरका अध्यक्ष सुरेन्द्र खरेलले छोटो समयमै विद्यालयले उल्लेख्य प्रगति गरेको बताउँदै अतिरिक्त क्रियाकलापलाई समेत विद्यालयले प्राथमिकता दिएको आफूले पाएको बताउनुभयो। विद्यार्थीको शैक्षिक उन्नयनमा अतिरिक्त क्रियाकलाप पनि महत्वपूर्ण हुने भएकाले आगामी दिनमा पनि विद्यालयले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक एवं प्राज्ञ पवन राजवंशी, शिक्षक–अभिभावक संघका अध्यक्ष ताराप्रसाद चापागाईं, अभिभावक एवं समाजसेवी धनसिंह राजवंशीलगायत सञ्चारकर्मी रन्जित प्रसाईको उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षक शिक्षिकाले समेत नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल देवान ढुङ्गानाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्