झापा, २१ भाद्र । झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलले आइतबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल तारा कुमार प्रसाईले विद्यार्थीको शैक्षिक उन्नयनका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए। उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर केन्द्रित रहेको बताए।

न्यूटन्स इङ्लिस स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाईंले छोटो समयमै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल बेल्स मोडल स्कुल दिनप्रतिदिन सफलतातर्फ अघि बढिरहेको बताए।
त्यस्तै, बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले आफ्नो वडाको ‘गहनाका रूपमा’ रहेको बेल्स मोडल स्कुलले विद्यार्थीको शैक्षिक गुणस्तरमा निरन्तर ध्यान केन्द्रित गर्दै अघि बढिरहेको आफूले पाएको बताए।
सात वर्षअघि स्थापना भएको विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा पहिचान बनाउन सफल भएको जनाइएको छ। विद्यालयमा हाल १ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। तीन वर्षअघि मात्रै कक्षा ११ को पठनपाठन सुरु गरेको विद्यालयमा हाल कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषयमा अध्यापन भइरहेको छ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा नाटकसमेत मञ्चन गरेका थिए। कार्यक्रममा कक्षा १२ मा अध्ययनरत मोहम्मद अब्बास र निशालाई वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा विशेष सम्मानसमेत गरिएको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विद्यालयका भाइस प्रिन्सिपल देवान ढुङ्गानाले सञ्चालन गरेका थिए भने शिक्षक गौतम गहतराजले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा न्यूटन्स इङ्लिस स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाईं र बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, समाजसेवी भवानी पाण्डे लगायत अतिथिका रूपमा सहभागी थिए।






