झापा, २४ भदौ । अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोडबाट तीनजना पक्राउ परेका छन्।
उनीहरूलाई आज बिहान करिब ९ः३० बजे बिर्तामोड नगरपालिका–४ स्थित बृक्ष क्याफेबाट पक्राउ गरिएको हो। पक्राउ परेका युवाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
पक्राउपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानपछि प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताएका छन्।
बिर्तामोडमा गैरकानुनी रूपमा अनलाइन जुवा तथा सट्टाबाजी खेलाउने गतिविधि बढ्दै गएको प्रहरीको भनाइ छ। यसअघि पनि करिब तीन महिनाअघि बिर्तामोडबाट अनलाइन सट्टाबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए।






