झापा, १३ भाद्र । झापाको बिर्तामोडमा ट्यांकरको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा पाँचथरको साविक नागी गाउँपालिका–६ की ३२ वर्षीया गायत्री कट्टेल रहेको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिका–२ स्थित रामचोक नजिकै गन्तव्य डान्सबारअगाडि पूर्व–पश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट कट्टेल घाइते भएकी थिइन्। उनी सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरेका थिए।
गम्भीर घाइते अवस्थामा भेटिएकी कट्टेललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
दुर्घटनापछि फरार भएको ना.४ ख ९११० नम्बरको तेल ट्यांकर प्रहरीले मेचीनगर नगरपालिका–१३ स्थित मेट्रो पेट्रोल पम्प, चारआलीको पार्किङस्थलमा फेला पारी नियन्त्रणमा लिएको छ।
ट्यांकर चालक भने फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






