झापा, २३ असार । झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई सोमबार साँझ करिब ७ः५० बजे आफ्नै घरको भान्सामा खाना पकाइरहेका बेला कोब्रा सर्पले टोकेको थियो।
सर्पले डसेपछि परिवारले तत्काल उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमक पुर्याएका थिए। उपचार जारी रहे पनि उनको अवस्था गम्भीर बन्दै गएपछि राति १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






