Logo

भारतबाट इन्धनको भाउ बढेर आयो, नेपालमा तत्काल नबढ्ने



काठमाडौं, १५ असोज । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।

आइओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा र हवाई इन्धन प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा वृद्धि भएको निगमले जनाएको छ।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा भने तत्कालका लागि उपभोक्ता मूल्य नबढ्ने भएको छ। भोटेकोशीको बाढी, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।

हाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्यका लागि देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरेको छ। जसअनुसार चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र समेटिएको पहिलो वर्गमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

सुर्खेत र दाङ क्षेत्र समेटिएको दोस्रो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायल क्षेत्र समेटिएको तेस्रो वर्गमा प्रतिलिटर २०० रुपैयाँ मूल्य तोकिएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य भने देशभर प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् रहेको छ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट सोझै कच्चा तेल खरिद नगरी आइओसीबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। आइओसीले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, प्रशोधन शुल्क र अन्य खर्च जोडेर हरेक १५-१५ दिनमा निगमलाई नयाँ मूल्य पठाउने गर्छ। सोही मूल्यमा भन्सार महसुल, प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसन जोडेर निगमले स्वदेशी बजारका लागि उपभोक्ता मूल्य निर्धारण गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्