काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय महिला भलिबल टोली ले घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात आज भारतविरुद्ध गर्दैछ ।
नेपाल र भारत राष्ट्रिय महिला भलिबल टोली बीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
दिनको पहिलो खेलमा इरान राष्ट्रिय महिला भलिबल टोली र बंगलादेश राष्ट्रिय महिला भलिबल टोली बिहान ११ बजे आमनेसामने हुनेछन् । त्यसपछि उद्घाटन समारोह आयोजना गरिनेछ ।
यो पटक नेपाली टोलीमा ठूलो परिवर्तन देखिएको छ । अनुभवी खेलाडीहरू सरस्वती चौधरी, साफिया पुन, प्रतिभा माली, पुनम चन्द र कविता भट्ट अष्ट्रेलिया गएपछि टोलीमा नयाँ अनुहारले अवसर पाएका छन् ।
मिना सुनार, सलिना बुढामगर, बसन्ती साउद, सुनिता खत्री, एलिशा मानन्धर र जसना महतोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने रिमा कुँवर ले पुनरागमन गरेकी छिन् ।
कप्तान निरुता ठगुन्ना सहित उषा भण्डारी, कामना विष्ट, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, प्रगती नाथ र शान्तीकला तामाङ टोलीका अनुभवी खेलाडी हुन् ।
नेपालले गत वर्ष घरेलु मैदानमा भएको काभा महिला भलिबल नेसन्स लिगमा भारतलाई पहिलो पटक ३–२ को सेटमा हराएको थियो । यद्यपि फाइनलमा भने भारतसँगै पराजित भएको थियो ।
यसपटक पनि युवा खेलाडीले भरिएको नेपाली टोली भारतविरुद्ध नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ ।








